स्थानीय तहहरूको नामको हिज्जेमा शुद्धता र एकरुपता सम्बन्धमा
व्यक्ति, समुदाय, गाउँ, नगर, जिल्ला, प्रदेश, देश, नदी आदि सबैको नाम हुन्छ। नाम कुनै पनि व्यक्ति वा स्थानको पहिचान हो र यो सङ्केत (कोड) पनि हो। हामीले आफ्नो नाम शुद्ध लेखेमा मात्र अरुले पनि हामीलाई शुद्ध नामले सम्बोधन गर्दछन्। कुनै पनि भाषामा नामलाई शुद्ध रुपमा लेख्ने एउटै मात्र तरिका हुन्छ। नाम लेख्दा प्रायः शब्दकोशमा भएका शब्द वा घटकहरू प्रयोग गरिन्छ। भाषाको मानक शब्दकोश र व्याकरणले नामलाई शुद्ध र एकरुपता कायम गर्न सघाउँछन्।
समयानुसार राज्यको पुनर्संरचना भइरहन्छ। नेपालमा विक्रम संवत् २०१८ सालमा ७५ जिल्ला घोषणा गरियो। अहिले सबै जिल्लाहरूको नाममा प्रयोग भएका शब्द/घटकहरूको हिज्जे बृहत् नेपाली शब्दकोशमा उल्लेख भएअनुसार प्रयोग भइरहेको छ। अर्थात् भाषिक दृष्टिले सबै जिल्लाहरुको नाममा शुद्धता छ। तथापि राज्यको पुनर्संरचनासँगै स्थापना भएका स्थानीय तहहरूमध्ये केही स्थानीय तहहरूले आफ्नो नाममा प्रयोग भएको शब्द वा घटकको हिज्जे नेपाली भाषाको मानकबमोजिम शुद्ध प्रयोग गरेको देखिदैँन। साथै एउटै शब्द/घटकबाट नामकरण भएका स्थानीय तहहरूले फरक फरक हिज्जेको प्रयोग गर्दा एउटै शब्द/घटकको हिज्जेमा एकरुपता समेत देखिदैँन (सहिदभूमि/शहीदनगर/शहिद लखन)।
नेपालको संविधानले नेपाली भाषालाई सरकारी कामकाजको भाषा तोकेको छ। नेपाली भाषामा वर्णहरूको प्रयोग तथा पदयोग र पदवियोग सम्बन्धी आफ्नै मानक छ। नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश नेपाली भाषाको आधिकारिक शब्दकोश मानिन्छ। वर्णको प्रयोग सम्बन्धी मानक र शब्दकोशलाई आधार मानेर नेपालका सबै स्थानीय तहहरूको नाममा शुद्धता र एकरुपता कायम गर्न सकिन्छ।
Discussion about this post